[<तेश्रो एनआरएन विश्व सम्मेलनले दिएका सन्देशहरु]

 

 

 

गैरआवासीय नेपालीहरु (एनआरएन)को तेश्रो बिश्व सम्मेलन भरखर काठमाडौमा सम्पन्न भएकोछ। चालिस मुलुकका करिब ४०० नेपालीको सहभागिता रहेको यस सम्मेलनले विगतका दुई विश्व सम्मेलन भन्दा केही फरक सन्देशहरु दिएकोछ। राजनैतिक पार्टीहरुका नेताहरु, वुद्धिजिवीहरु, सञ्चार माध्यम र सर्वसाधारण समेतले सम्मेलनप्रति गहिरो चासो देखाएर एनआरएन अभियानलाई थप महत्व प्रदान गरेका छन् । यसलाई मुलुकका सवै पक्षले गैरआवासीय नेपालीहरुलाई राष्ट्रको एक अभिन्न अङ्गको रुपमा स्विकार्न थालेको उदाहरणको रुपमा लिन सकिन्छ। सम्मेलनमा औपचारिक तथा अनौपचारिक अन्तरकृयको आयोजना गरेर एनआरएनले आफूले उठाउँदै आएका मूल मुद्दाहरु जस्तै मुलुकको आर्थिक र सामाजिक बिकासमा प्रवासी नेपालीको भूमिका, दोहोरो नागरिकता, बैदेशिक रोजगारका समस्या र संभावनाका आदि बारे सरकार र सम्बन्धित निकायलाई धेरै हद सम्म स्पष्ट पार्न सफल भएको छ। यद्धपि,  ठूलो आर्थिक लगानीको घोषणा हुने अपेक्षा गरेकाहरुलाई सम्मेलनले उत्साहित गर्न सकेन। खासगरी, दोश्रो सम्मेलनमा घोषित एक सय मिलियन अमेरिकी डलरको संगठित लगानीको परियोजना (नेपाल ईन्भेष्टमेन्ट फण्ड)ले ठोस रुप लिने आशा गर्नेहरु निराश भएका छन्। 

एनआरएनको फराकिलो भूमिका

एनआरएनको स्थापनाकालको अवधारणा नेपालीहरुले बिदेशमा कमाएको पूँजी भित्र्याएर देशको आर्थिक बिकासमा टेवा पुर्‍याउने रहेको थियो। पछिल्ला दिनहरुका तथ्याङ्कले के प्रष्ट पारेको छ भने वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिटेन्स मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको छ। एनआरएनको भूमिका पूँजी लगानी र रेमिटेन्समा मात्र सिमित नहरेर राष्ट्र निर्माणका लागि आबश्यक पर्ने अन्य विबिध पक्षहरुमा समेत रहेको कुरा यस सम्मेलनले थप पुष्टि गरेकोछ।

सम्मेलन आयोजकले नेपालको बिकट जिल्लामा ताररहित इन्टरनेटको सञ्जाल बिस्तार गरेबापत एशियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार बिजेता महावीर पुनलाई उद्‍घाटन समारोहमा मुख्य बक्ताको रुपमा निमन्त्रणा गरेर मुलुक बाहिर सिकेको सिप र प्रविधीलाई कसरी राष्ट्र निर्माणमा सदुपयोग गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण प्रस्तुत गरे। पुनको उपस्थितिले प्रवासमा बसेका नेपालीलाई पनि आफ्नो राष्ट्रप्रतिको दायित्वको स्मरण गराएको थियो। माओबादी लगायतका राजनैतक दलका नेताहरु देखि बुद्धिजिवी सम्मले पूँजीको अलावा बाहिर सिकेको प्रविधी, सिप र ज्ञानलाई सदुपयोग गरेर नयाँ नेपाल निर्माण गर्नमा गैरआवासीय नेपालीहरुको भूमिकामा बिशेष जोड दिए। मुलुक निर्माणमा एनआरएनप्रति राज्यले गरेको अपेक्षाको यो अर्को उदाहरण हो। 

बिदेशमा नेपाली भाषा र संस्कृतिको प्रवर्धन गरेर देशको पर्यटन बिकासमा टेवा पुर्‍याउन एनआरएको महत्वपुर्ण भूमिका भएको कुरा प्रधानमन्त्रीको “एनआरएन जनताका राजदुत” हुन भन्ने स्विकारोक्तिबाट प्रस्टिएकोछ। ‘एउटा साथी घर पठाउ’ भन्ने नेपाल पर्यटन बोर्डको अभियानलाई सार्थक रुपमा सफल बनाउन एनआरएनको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएकोछ। नेपाल सम्वन्धी नकारात्मक प्रचार प्रसार र गलत सचनाको पहिचान र तिनीहरुको निराकरण गरी राष्ट्रको छबी राम्रो बनाउन समेत एनआरएनले सहयोग गर्न सक्ने कुरा अन्तरकृयामा सहभागी उच्चपदस्त प्रशासकहरुले सहर्ष स्विकारेका थिए। मुलुकमा लोकतन्त्र र वाक स्वतन्त्रता विरुद्ध उठाईने कदममा खबरदारी गर्न तथा लोकतान्त्रिक मूल्य र मान्यताका पक्षमा हुने आन्दोलनमा नैतिकबल प्रदान गर्न प्रवासमा बस्ने नेपालीहरुको महत्वपुर्ण भूमिका रहने कुरा सबै पक्षले स्विकारेको पाईयो।

बैदेशिक रोजगारका समस्या र अनियमितताको पहिचान तथा रोजगारको संभावनाको खोजीमा एनआरएन सहयोगी हुन सक्छन भन्ने कुरा एनआरएनको तर्फबाट सम्मेलनमा प्रस्तुत कार्यपत्र र सहभागीहरुको छलफलबाट प्रदर्शित भएको थियो। 

सम्मेलनमा महिला, युवा, दलित तथा पिछडिएका वर्गको समस्याहरु बारे अन्तरकृया सञ्चालन गरेर एनआरएनले मुलुकको आर्थिक र राजनैतिक सवाल बाहेक सामजिक बिकासमा पनि आफ्नो भूमिकाको खोजी गर्ने जमर्को गरेकोछ।

गैरसरकारी संघसंस्थाहरु बिच सहकार्यको वातावरण

सामाजिक बिकासका लागि नेपालमा कार्यरत गैरसरकारी संघसंस्थाहरु र एनआरएन बिच सहकार्यको वातावरण बनाउन पनि सम्मेलनले पहल गरेकोछ । एनआरएनद्वारा अनुबन्धित नेपाल लाइब्रेरी फाउन्डेसन, नेपालको ग्रामिण क्षेत्रमा शिक्षाको बिकासमा कार्यरत रुरल एजुकेसन एण्ड डेभलपमेण्ट नामक गैरसरकारी संस्था र सोसाईटी फर काठमाण्डु भ्याली लाईब्रेरी बिच सम्मेलनमा भएको अन्तरकृया कार्यक्रम आपसी सहकार्य स्थापन गर्न महत्वपुर्ण रह्यो। यसले अन्य गैरसरकारी संघसंस्थाहरुलाई सहकार्य गर्न उत्प्रेरण गर्ने निश्चित छ। नेपाल उद्योग वाणिज्य महासंघको “एक गाउँ एक उत्पादन” र ट्रेड स्कुल परियोजनामा एनआरएनले सहकार्य गर्ने सहमती यस अगाडि भईसकेकोछ।  

बिदेशमा नेपाली बजारको बिस्तार

बाहिर बस्ने नेपालीहरु संख्यात्मक रुपमा बढ्दा नेपाली बजारको बिस्तार बिदेशमा पनि गर्न सकिने संभावना देखा परेका छन। कान्तिपुर पब्लिकेसन जस्ता राष्ट्रियरुपमा स्थापित संस्थाले आफ्नो व्यवसाय मध्यपूर्व र उत्तर अमेरिकामा बिस्तार गर्न लागेको तथ्यलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। कान्तिपुरको यस कदमले अन्य क्षेत्रका व्यवसायीहरुलाई पनि उत्प्रेरित गर्न सक्यो भने नेपाली व्यवसायीको उत्पादन नेपालीहरुले नै उपयोग गर्न पाउने र नेपालीको धन नेपालीमा नै जाने संभावना रहनेछ।

लोकतन्त्रप्रतिको प्रतिबद्धता र राजनैतिक दलसँगको  सम्बन्ध
लोकतन्त्रको पक्षमा गैरआवसीय नेपाली संघले आवाज उठाउन हुन्छ वा हुँदैन भन्ने बिषयमा संघले विगतमा स्पष्ट धारणा बनाउन सकेको थिएन। यस विषयलाई लिएर एनआरएनएको आलोचना गर्ने वा एनआरएन अभियानमा खुलेर लाग्न असहज मान्नेहरुलाई सम्मेलनले स्पष्ट सन्देश दिएकोछ। “काठमाडौ घोषणापत्र २००७” मार्फत “मुलुकको दीर्घकालीन शान्ति, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, व्यक्तिगत सम्पत्ति लगायतका मौलिक अधिकारप्रति” एनआरएनएले प्रतिवद्धता जनाएकोछ। एनआरएनएले यस्तो खालको प्रतिवद्धता दस्ताबेजको रुपमा बाहिर ल्याएको यो पहिलो पटक हो। यो निर्णय एनआरएन र लोकतान्त्रिक सरकार बिच सुमधुर सम्बन्ध कायम राख्न महत्वपुर्ण हुनेछ।

राजनैतिक दलका विदेशमा कार्यरत भातृ संगठनहरु पनि गैरआवासीय नेपाली कै संस्था हुन् र नेपालका राजनैतिक दलहरुले त्यो बहुमूल्य स्रोतको सदुपयोग गर्नु पर्छ भन्ने  एनआरएन अध्यक्षको उदघोषले एनआरएन र दल बिच उचित सम्बन्ध कायम राख्न सहयोग गर्नेछ। दुई पक्ष बिच सम्बन्ध कायम राख्न पार्टिका जनबर्गिय संगठनका सदस्यहरुले पुलको रुपमा काम गर्न सक्छन भन्ने ज्वलन्त उदाहरण सम्मेलनमा देखियो। खासगरी पार्टीहरु (नेपाली काग्रेस, नेकपा एमाले, र नेकपा माओबादी)को तर्फबाट सम्मेलनमा गैरआवासीय नेपालीहरुलाई लागि स्वागत र अन्तरकृया कार्यक्रम आयोजना गर्न एनआरएन अभियान लागेका दलका विदेशी भातृसंगठनका सदस्यहरुको सकृय भूमिका थियो।

दोहोरो नागरिकता अथवा नेपाली नागरिकताको निरन्तरता

गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता प्रदान गर्ने कुरा निकै पहिले देखि बहसमा आए पनि यसले ठोस रुप लिन कानूनी कठीनाइ रहेका छन् । तराई क्षेत्रमा भएको नागरिकता समस्याले पनि यस मुद्दालाई ओझेलमा पार्दै आएकोछ। नेपाली नागरिकता त्यागेर बिदेशी नागरिक भइसकेका गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता प्रदान गर्न संविधानमा नै व्यवस्थाव्यवस्था हुनु पर्ने भएकोले यो मुद्दा जटिल भएको गैरआवासीय नेपालि संघले पनि महसुस गरेकोछ। तर भविष्यमा बिदेशी नागरिकता लिन चाहने नेपालीहरुले हालको आफ्नो नेपाली नागरिकतालाई कायम राख्न सक्ने व्यवस्थाव्यवस्था गर्न त्यति जटिल नभएको (संवैधानिक व्यवस्थामा परिवर्तन नगरिकन) अन्तरकृयामा सहभागी महान्याअधिबक्ताले प्रष्ट पार्नु भएकोछ। उहाँका अनुसार, नागरिकता ऐनमा भएको “बिदेशी नागरिकता लिए पछि नेपाली नागरिकता स्वत रद्द हुने” प्रावधानलाई हटाउन सक्यो भने भविष्यमा बिदेशी नागरिकता लिनेहरुले अहिलेको नागरिकतालाई निरन्तरता दिन पाउनेछन।

यदि यो संभव छ भने एनआरएनले 'नेपाली नागरिकताको निरन्तरता'को मुद्दालाई अगाडी बढाउनु उपयुक्त देखिन्छ। साथै पछिल्लो तीन पुस्ता भित्र नेपाली नागरिकता त्यागेका र नेपाल सरकारसँग उनीहरुको अभिलेख भएकाहरुलाई नेपाली नागरिकता कायम राख्न दिने व्यवस्थाव्यवस्था गर्न सरकार पनि उदार हुन तयार हुनु पर्छ।

व्यवस्था एनआरएनएको संस्थागत बिकास र एकताको सन्देश

तेस्रो गैरआवासीय नेपाली विश्व सम्मेलन मूलत: एनआरएन अभियानलाई संस्थाकोरुपमा बिकसित गर्न नै केन्द्रित रह्यो। सम्मेलनबाट पारित विधानले एनआरएनएलाई सम्पूर्ण प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा बिकसित गर्ने आधारहरुको निर्माण प्रकृया शुरु गरेकोछ। सम्मेलनमा “गैरआवासीय नेपालीका संवन्धमा व्यवस्थागर्न बनेको विधेयक” ले दिएको एनआरएनको नयाँ परिभाषाले संस्थालाई निकै संकट पारेको देखिन्छ। अन्तराष्ट्रिय मान्यता अनुसार एनआरएनएले स्थापित गरेको परिभाषा (१८२ दिन भन्दा बढी मुलुक बाहिर बसेको नेपाली नागरिक) को विपरित विधेयकले दुई बर्ष भन्दा बढी बिदेशमा बसेकाहरुलाई एनआरएनको परिभाषा दिएर अल्पकालीन रोजगारीमा जाने बहुसंख्यक नेपाली कामदारलाई र विद्यार्थीलाई एनआरएनबाट अलग राखेकोछ। यस संकटको सन्दर्भमा सम्मेलनका अगाडि दुई वटा विकल्प थिए। पहिलो, एनआरएनको विधानमा विधेयकको परिभाषा अनुसरण गरेर विधेयकमा व्यवस्था भए अनुसार एनआरएनलाई कानुनी संस्थाको रुपमा नेपालमा दर्ता प्रकृयामा अगाडि बढाउने र प्रस्तावित “नेपाल इन्भेष्टमेन्ट फण्ड” लगायतका परियोजनालाई गति दिने। दोश्रो, संस्थाको दर्ता प्रकृयालाई हाललाई थाँती राखेर १८२ दिनको परिभाषाको व्यवस्था गर्न सरकारकारलाई दवाव दिने। सम्मेलनले दोश्रो विकल्पलाई आत्मसात गरेर सम्पूर्ण प्रवासी नेपालीहरु विचको एकताको पक्षमा उभिएकोछ। यसो त सर्वसम्मत रुपमा भावी नेतृत्व चयन गरेर सम्मेलनका सहभागीहरुले एकता प्रदर्शन गरे। सर्वसम्मत निर्णयले संस्थाको आन्तरिक मामलामा हस्तक्षप गर्न खोज्ने बाहिरी तत्वहरुलाई पनि राम्रो पाठ पढाएकोछ।

साराशंमा, संघको नेतृत्वले विगतमा दिएको आश्वासन र पूँजीलगानीको क्षेत्रमा राष्ट्रले गरेको अपेक्षा अनुसारका उपलब्धि नभए पनि आफ्नो आयु अनुसार अभियानले गर्नु पर्ने उपलब्धिहरु प्राप्त गर्न सम्मेलन धेरै हद सम्म सफल भएकोछ। एनआरएन अभियान अहिले जागरणको चरणमा रहेकोले राष्ट्रका हरेक पक्षलाई त्यसको औचित्यबारे स्पष्ट पार्न सक्नु आफैमा उपलब्धिपूर्ण भएको मान्नु पर्छ। तर राष्ट्रको अपेक्षा अनुसारको नतिजा २००९ सालमा सम्पन्न हुने एनआरएनको चौथो विश्व सम्मेलन देखाउन सकेन भने मुलुकको एनआरएन प्रतिको भरोसा कम हुदै जाने छ।

(लेखक एनआरएन जापानका निवर्तमान राष्ट्रिय संयोजक तथा हाल बेलायतको लिभरपुल युनिभर्सिटीमा प्राध्यापन पेशामा छन)