[एनआरएन कोरियाको 'एक साथी देश पठाऊ' बिषयक परिचयात्‍मक कार्यक्रम सम्पन्न     

पुरु जोशी

दक्षिण कोरिया   अप्रिल, २८      

           

         
गैर आवासीय नेपाली संघको तेस्रो विश्व सम्मेलनको प्रतिवद्धता अनुरुप नेपालको नागरिक पर्यटन तथा उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डद्वारा संचालित एक साथी देश पठाऊ कार्यक्रमलाई सफल पार्न नेपाली राजदूतावास दक्षिण कोरिया र एनआरएन दक्षिण कोरियाको संयुक्त आयोजनामा  परिचयात्मक कार्यक्रम अप्रिल २७ आईतबार नेपाली राजदूतावास दक्षिण कोरियाको कार्यालयमा सम्पन्न भएको छ ।

नेपाली राजदूतावासको प्रमुख आतिथ्‍य तथा एन आर एन दक्षिण कोरियाका अध्यक्ष गंगाराज राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो । जसमा एन आर एन एसिया प्यासेफिक सह संयोजक श्री रुद्र शर्मा, नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधी के पी सिटौला,  नेपाली विद्यार्थी संगठन सोन्सिकका उपाध्यक्ष भरत भट्टराई, नेपाली राजदूतावासका कन्सुलर  यादव खनाल, भोजपुर परिवारका अध्यक्ष एल बी प्रधान, \'एक साथी देश पठाऊ\' कार्यक्रमका कोरिया प्रतिनिधी दावा नोर्बु शेर्पा, हिमालयन बौद्ध लामा संघका अध्यक्ष कुन्साङ दोर्जे लामा, नेपाल पत्रकार महासंघका महासचिव पुरु जोशी, नेपाली जन सम्पर्क समितिका सह सचिव अर्जुन कठायत, नेपाली सम्पर्क समितिका पुर्व अध्यक्ष बम लावती लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो

नेपाली राष्ट्रिय गानबाट शुरु भै मौन धारण तथा विभिन्न ब्यक्तिहरुको मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य एक साथी देश पठाऊ कार्यक्रमलाई कोरियामा बसोवास गर्ने नेपालीहरुलाई परिचय गर्नु रहेको थियो । उक्त कार्यक्रमलाई परिचय गर्ने क्रममा कार्यक्रमका अन्तर्राष्ट्रिय संयोजक तथा एनआरएन आईसीसीका प्रतिनिधी श्री तेन्जी शेर्पाले कार्यक्रमबारे बिस्तृत जानकारी गराउनु भएको थियो साथै कोरियन विद्यालयहरुमा पढाइने पाठ्यक्रममा बुद्ध जन्मेको देशको बारेमा सच्याउनु पर्ने बुंदाहरुका बारेमा पनि बिस्तृत जानकारी दिनु भएको थियो

त्यसैगरि उक्त कार्यक्रम बारे जिज्ञासाहरु भएका ब्यक्तिहरुको लागि एक अन्तर्क्रिया सन्चालन हुंदा थुप्रै नेपालीहरुले आफ्ना जिज्ञासाहरु पोखेका थिए र एन आर एक कोरियाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति श्री गंगाराज राईको कार्यक्रममा उपस्थित हुनु भएका सबैजनालाई धन्यवाद दिनु हुदै कार्यक्रम बिसर्जन भएको थियो । एन आर एन कोरियाका उपाध्‍यक्ष ध्‍यान राईद्वारा सञ्‍चालन गरिएको उक्‍त कार्यक्रमको अन्तमा चियापान कार्यक्रम भएको थियो।